पोखरा । विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए ।
खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्ने गरि आयोजित उक्त फेस्टिबलको अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका खाना पस्केका थिए ।
खाना बाहेक संगीत र खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको थियो । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा रहेको पाककलाको क्षमता देखाउने गरि फूड फेस्टिबल आयोजना गरिएको बताए । विद्यालयले यो सहित तेश्रो संस्करणको फूड फेस्टिबल आयोजना गरेको हो । ‘विद्यार्थीले किताबी ज्ञान मात्र पाएर हुँदैन । व्यावाहरिक रुपमा पनि सीप देखाउने ठाउँ चाहिन्छ । विद्यार्थीका लागि यो फेस्टिबल आफ्नो सीप पस्कने अवसर हो,’ उनले भने ।
पोखरामा हरेकवर्ष सडक महोत्सव हुने र त्यसले खाना, संगीत र संस्कृतिलाई पस्केको अवस्थामा विद्यालयमार्फत पनि प्रयास थालिएको उनले बताए । ‘पर्यटन व्यावसायीले सडक महोत्सव आयोजना गरेर लाखौं पर्यटक पोखरा ल्याउँछन । त्यस्तै प्रतिभाका विद्यार्थीले पनि सिकेको सीपलाई विद्यालयमा प्रस्तुत गर्ने अवसर यो फेस्टिबलले दिएको छ,’ उनले भने, ‘विद्यालयका लागि यो ठूलो कार्यक्रम पनि हो, जसले विद्यार्थीको क्षमतालाई बाहिर देखाउन सकिएको छ ।’
फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेको स्वाद चखाउने अवसर पनि यो फेस्टिबल भएको उनले बताए । यो कार्यक्रम गर्नका लागि विद्यार्थी आफैले प्रस्तावना तयार पारेर विद्यालयमा बुझाउने र त्यही प्रस्तावना अनुसार कार्यक्रम सम्पन्न गर्ने भएकोले यस्ता कार्यक्रमले विद्यार्थीमा पूर्ण व्यावसायिकता पनि विकास गराउने प्राचार्य सापकोटाले बताए ।
‘विद्यार्थीले कार्यक्रम गर्छन । त्यसपछि सबै काम सकेर हिसाबकिताब पनि फरफारक गर्छन । त्यो अवधिमा विद्यार्थीको बजारीकरण, खाना पकाउने कला, पस्कने शैली, कार्यक्रमको स्वरुप, हिसाबकिताको पारदर्शीता सबै एकैथलोमा अभ्यास गर्न पाउँछन,’ उनले भने, ‘एउटा व्यवसायको पूर्ण रुपको अभ्यास विद्यालयमा हुने भएकोले यसले विद्यार्थीमा क्षमता प्रस्ट्याउँछ ।’ विद्यार्थीमा व्यावसायीकताको संस्कार सिकाउन पनि यसले सघाउने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विद्यार्थीमा किताबी ज्ञान मात्र नभई व्यवाहारिक सीप पनि आवश्यक हुुने बताए ।
उनले विद्यार्थीमा सीपको महत्व बुुझाउनका लागि पनि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । ‘विद्यार्थीले किताबमा पढेर मात्र हुँदैन । उनीहरुले पढेको कुरालाई व्यावहारिक रुपमा पस्कन सिक्नुपर्छ । विद्यालयले यस्ता अवसर जुटाइदिनुपर्छ,’ उनले भने । भट्टराईले विद्यार्थीमा सीप भएमा कुनैपनि ठाउँमा भोकै बस्न नपर्ने बताए । ‘देश वा बिदेश जहाँ गएपनि सीप चाहिन्छ । सीप सिकेर गएको खण्डमा कोहीपनि विद्यार्थी भोकै रहनुपर्दैन,’ उनले भने, ‘विद्यार्थीका लागि व्यावहारिक सीपको झनै महत्व छ ।’
पर्यटन व्यावसायी भट्टराईले स्वदेश वा बिदेश जहाँ गएपनि सीप आवश्यक पर्ने बताए । नेपालमा पछिल्लो समय उद्यमशिलता कमजोर हुँदै गएको अवस्थामा विद्यार्थीले सीप मार्फत आफुलाई अब्बल सावित गर्न सक्नुपर्ने पनि बताए । ‘उद्यमशिल भएको खण्डमा रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि पनि दक्षता चाहिन्छ,’ उनले भने ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले यस्तै सिकाईले विद्यार्थीमा व्यावसायिकताको भावना विकास हुने बताए । ‘यस्ता कार्यक्रम औपचारिकताका लागि मात्र नभई वास्तविकताका लागि आवश्यक छ,’ उनले भने, ‘किताबी ज्ञानलाई वास्तविकतामा बदल्न सकेको खण्डमा त्यसले प्रतिफल दिलाउँछ ।’ कक्षा १२ की छात्रा डिना गुरुङले व्यावहारिक ज्ञानका लागि विद्यालयले गरेका यस्तै कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोँच विकास हुने बताइन । फूड फेस्टिबलको अवसरमा विद्यालयमा विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रम पनि पस्केका थिए ।