सम्पादकीय –
जनस्वास्थ्यविद्का अनुसार जाडोयाममा बढ्दो वायु प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउँछ । यस्तो बेला रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षाघात, हृदयाघात जस्ता समस्याले स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा विशेष सजग हुनु पर्छ ।
जाडोयाममा घाम लाग्नुअघि बिहान बढी प्रदूषण हुने भएकाले मुटुरोगीलाई बढी असर गर्न सक्छ । यो समस्या सहरी क्षेत्रमा अझ बढी हुन्छ । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, दीर्घरोगी, दमबाट पीडित बढी जोगिनु पर्छ ।
न्यानो नाना र तातो खाना जाडोयामका असल साथी हुन् । चिसोमा सबै जोगिनु पर्छ, अझ बालवृद्धा तथा रोगीलाई जोगाउनु जरुरी छ ।
ग्रामीण जीवन मात्र होइन, हिउँदका दिन सहरी जीवनसमेत उस्तै कष्टकर हुन्छ ।
सवारीसाधनको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने हुँदा इन्धन खपत बढ्छ । कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित हुने व्रmम जाडोमा बढी हुने हुँदा वायु प्रदूषण बढ्ने विज्ञहरूको भनाइ गम्भीर छ । जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लास्टिक तथा अन्य वस्तु बालिन्छ । यसले थप जटिलता ल्याउँछ ।
धुवाँ तथा प्रदूषक उत्सर्जनले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । चिसोसँगै बढ्ने वायु प्रदूषणले स्वच्छ वायुको न्यूनता चुनौती बन्छ ।
नेपालको पहाडी तथा तराई भूभागमा समेत हिउँदका दिन सहज हुँदैनन् । जाडो बढेसँगै चिसोजन्य रोगव्याधीले समाउने गर्छ ।
सोमबारदेखि नै पश्चिमी वायुको प्रभावले पानी तथा हिउँ पर्न थालेपछि थप कष्ट बढेको छ । पृथ्वीको उत्तरी गोलार्धमा कात्तिकदेखि माघसम्मका दिनमा तापव्रmम तल आउनु भूगोलीय बाध्यता हो । हिउँदका बेला उत्तरी गोलार्धका कतिपय भूभागमा तापमान माइनसमै जान्छ ।
अरू बेला गर्मीले खपिनसक्नु हुने स्थानमा समेत हिउँदका दिनमा तापमान तल झर्छ । दिनमा भन्दा रातमा अझ तापमान तल झर्ने गर्छ । तराईमा समेत शीतलहर पर्न गयो भने दिनमै पनि बसिनसक्नु चिसो बढ्छ ।
दिनमै चिसो हुने तराई रातमा झनै चिसो हुन्छ । हिमाल, पहाड र तराई जतासुकै भए पनि चिसोले थप कष्ट लिएर आउँछ । अझ विपन्न वर्गका निम्ति त चिसोको मौसम कहर बनेरै आउँछ । बालबालिका, वृद्धवृद्धा, रोगले सताएका मानिसका निम्ति हिउँदका दिन सहज हुँदैनन् ।