पोखरा
हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।
पोखरा २७ तालचोकमा हुने महोत्सव माघ १ गते सम्म चल्ने संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको संघकी महासचिव जानुका पराजुली अधिकारीले जानकारी दिईन् ।
स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
जानुका पराजुलीले औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रर्दशनी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी महोत्सवको मुख्य आर्कषण रहने वताईन ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ११७ सदस्यीय कार्यसम्पादन समिति एवं ४७ वटा उपसमिति गठन गरिएको छ ।
३३६ स्टल रहने महोत्सवमा अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामिण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन् ।
संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबार देखि नै खुल्ला गरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर २४ गते देखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप दुई हजार रूपैयाँ उपलव्ध गराइने आयोजकले जनाएको छ ।