पोखरा । पशुमा लाग्ने महामारीजन्य रोगहरुको नियन्त्रणको लागि ‘पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि संशोधन कार्यान्वयन गरिएको छ । पशुमा खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरी हालसम्म गण्डकी प्रदेशभर ९६ हजार दुई सय ९६ डोज खोप लगाइएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको उपलव्धिमा समावेश गरिएको छ । मन्त्रालयका अनुसार गाईभैंसी र बाख्रामा गरी २४ हजार ८ सय ६१ पटक कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको र चार हजार छ सय ७१ पटक उपचार सेवा प्रवाह गरिएको छ ।
व्यावसायिक कृषकको घरगोठमा नै पुगी थारो रहेका र पटकपटक कृत्रिम गर्भाधान गराउँदा पनि गर्भाधारण हुन नसकी बाँझो भनी पहिचान भएका एकसय ५६ गाई भैसीको बाँझोपन सम्बन्धी समस्याको उपचार गरिएको जनाइएको छ । ‘‘गत आव मा नश्ल सुधारका लागि वितरण गरिएका याकको अनुगमन गरी १९ याक मध्ये एकको मृत्यु भएको र एकको अवस्था अज्ञात रहेको पाइएको छ । १७ याकको स्वास्थ्य परीक्षण गरी उचित व्यवस्थापनको लागि कृषकलाई अभिमुखिकरण गरिएको छ,’’ मन्त्रालयको उपलव्धिमूलक पुस्तिकामा समावेश गरिएको छ ।
व्यावसायिक कृषिलाई विस्तार गर्नको लागि लोकमार्ग कोरिडोर लक्षित मासु उत्पादनका लागि बाख्रा विकास कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले जानकारी दिइन् । योसँगै गण्डकी प्रदेशमा पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयन गर्ने गराउने वातावरण तयार गर्न प्रदेश र स्थानीय सेवामा कार्यरत १२ जना दर्तावाल पशु चिकित्सकहरुको मासु निरीक्षण सम्बन्धी क्षमता विकास तालिम गरिएको जनाइएको छ । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय माछामासु तथा माछा मासुजन्य पदार्थ र दूध तथा दूधजन्य पदार्थहरुको उपलब्धतलाई थप व्यवस्थित बनाइएको मन्त्रीले श्रेष्ठले बताइन् ।
‘‘सहकारी मार्फत दूधको औपचारिक बजारीकरणमा संलग्न दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्न विगतको व्यवस्थामा सुधार गरी प्रति लिटर दूध उत्पादन बापत अधिकतम पाँच रुपैयाँ उपलब्ध गराउने मापदण्ड संशोधन गरिएको छ,’’ उनले भनिन् । कृषिलाई विस्तार गर्दै गण्डकी प्रदेश आलुको पकड क्षेत्र भएकोले आलु खेती प्रवर्धनका लागि आठ सय ३० हेक्टरमा प्रशोधनयोग्य आलु बाली लगाइएको र १४ हजार पाँच सय २५ मेट्रिकटन उत्पादन भइ ४३ करोड मूल्य बराबरको कारोबार हुने मन्त्रालयको अपेक्षा गरिएको छ ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत पोखरा महानगरपालिका र जलजला गाउँपालिकामा पहिलो चरण अन्तर्गत सुन्तला बालीमा ४ सय ४२ रोपनी र कागती बालीमा कुल २ सय ४७ रोपनी गरी कुल ६ सय ८९ रोपनीका लागि फलफूल क्षेत्र विस्तार कार्यक्रम सञ्चालन साथै दोस्रो चरण अन्तर्गत कृषक छनौटका लागि २३५ हेक्टर क्षेत्रफलमा स्थलगत प्रमाणीकरण भएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार विभिन्न फलफूल बालीको ३ सय ५ हेक्टर क्षेत्रफल बगैँचा विस्तार तथा २ सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाजात फलफूल बगैँचाको सुदृढीकरण सम्बन्धी कार्यका लागि प्राप्त आवेदकहरूको स्थलगत प्रमाणीकरण कार्य जारी रहेको छ ।