पोखरा । रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको गुनासो गरेकी छन् । सामाजिक सन्जाल फेसबुक मार्फत उनले श्रीमान हिरासतमा भएको बेला मिडियाले देखाएको पुरुषार्थ अगाडि समाजसमेत मुकदर्शक बनेको लेखेकी छन् ।
उनले लेखेकी छन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु । समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यतिउति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि । श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु । मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं ।’
अनुसन्धानमा रहेको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको पौडेलले बताइन् । उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको बताएकी छन् । उनले सुरुमै लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न । मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’