विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ । प्रदूषण बढेसँगै वातावरण विभागले बेलाबेलामा सूचना जारी गर्दै ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह समेत गर्दै आएको छ । वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गरिन्छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
जलवायु परिवर्तनका चुनौतीको सामना गर्न विश्वलाई नै हम्मे परिरहेका बेला वायु प्रदूषणको समस्या पनि उस्तै गरी बढ्दो क्रममा छ । विश्वका कतिपय सहर प्रदूषणका कारण चर्को संकटमा छन् । केही दिनअघि भारतको नयाँ दिल्लीमा वायु प्रदूषणका कारण विद्यालयमा पनि अनलाइन प्रक्रियाबाट पठनपाठन गर्नु परेको घटना ताजै छ । छ । वायु गुणस्तरको सूचांकमा काठमाडौ विश्वको प्रदूषित सहरको सातौँ सूचीमा परेको जानकारी योभन्दा अघि नै आइसकेको हो । नयाँ अध्ययनले नेपालको काठमाडौसँगै अन्य सहर पनि प्रदूषणको चपेटामा परेको देखिँदा जोखिम झनै बढेको छ । वायु प्रदूषणले मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रतिकूल असर पार्छ । मुटु, फोक्सोमा असर र क्यान्सरलगायतका रोग वायु प्रदूषणसँग सम्बन्धित हुने जानकारको भनाइ छ ।
विश्वमै वायु प्रदूषणको समस्या उच्च बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणकै कारण विश्वभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ भने नेपालमा पनि उत्तिकै मात्रामा जोखिम बढ्दो छ । वायुको गुणस्तर अस्वस्थ बन्दै जाँदा सुधारका निम्ति सरकारी तथा निजीस्तरमा ठुलै पहल गर्नुपर्ने देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रले गरेको अध्ययनले नेपाली सहरहरूमा बढ्दो प्रदूषणले भविष्यमा ठूलो संकट निम्त्याउन सक्ने देखिएको छ ।