पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री भएसँगै यातयात कार्यालयमा सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क पहिलो निर्णयअनुसार नै कार्यान्वयन भएको उल्लेख गरेका छन् । आफूले ‘हनिमुन पिरियड’ मन्त्रालय र मातहतबाहेक अन्य काममा नखर्चिएको मन्त्री केसीले सुनाए ।
उनले भने, ‘यो सय दिनको सिकाइले मलाई अब मन्त्रालयलाई कसरी चलाउने ? कमजोरी कहाँ छ ? कसरी समाधान गर्न सकिन्छ ? भनेर सिकेको छु ।’ मन्त्री भएपछि कास्कीका दुई र तनहुँ, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का यातायात कार्यालयमा टोकन सिस्टम लागु गर्न सफल भएको उनले दाबी गरे । प्रदेशमा राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधिको मस्यौदा तयार भएको उनले जानकारी दिए । मन्त्रालयका १ हजार ८ सय ४६ योजनामध्ये ३८ सकिएको, ४ सय ८५ निर्माणाधीन रहेको, २ सय ६५ मूल्यांकनको चरणमा रहेको, ३ सय योजना बोलपत्र आव्हान् भएको र ४ सय ८८ योजना लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको मन्त्री केसीले जानकारी दिए ।
सेवाग्राहीको चाप एउटा कार्यालयमा मात्र नपरोस् भन्ने उद्देश्यले लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री केसीले जानकारी दिए । बागलुङको मालढुंगा–गलुवा–पाक्जा सडकअन्तर्गतको दब्ल्याङको पहिरो र कास्कीको नयाँपुल–घान्द्रुक सडकमा साढे दुई महिनादेखि अवरुद्ध सडक दसैंअघि नै पहिरो हटाएर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । आफू मन्त्री भएयता १६.७ किलोमिटर प्रादेशिक सडकको कालोपत्रे÷पक्की सडक निर्माण भएको, ११.९३५ किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य भएको, १९ किलोमिटर सडक पक्की ढलान गर्ने काम भएको मन्त्री केसीले बताए ।
लाइसेन्सको नतिजा आफू आउनुअघि एक महिना लाग्ने गरेकोमा अहिले बढीमा १० दिनमा हुने गरेको मन्त्री केसीले बताए । मन्त्री केसीले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म प्रदेश सरकार स्थापना भएयताकै उच्च विकास खर्च गरेको उपलब्धि विवरणमा उल्लेख छ । मन्त्रालयले हालसम्म १०.०१ वित्तिय र १२.६ प्रतिशत भौतिक प्रगति हासिल गरेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गतका १९ वटा कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७६ करोड ३९ लाख ३२ हजार ३ सय ७० राजस्व संकलन भएको मन्त्री केसीले बताए ।