Skip to content

घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । मन्त्री केसी बिहीबार क्वहोलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् ।

मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा पुगेको हो । मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म काम सक्ने जवाफ दिए ।

बागलुङपानीबाट भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ मा ३४ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । यो सडक स्तरोन्नतिको लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत बजेट परेको थियो । घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने सम्झौता थियो । सम्झौताअनुसार ०७८ असोज २९ गतेभित्र काम सक्नुपर्ने हो । तर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउन भएपछि काम हुन सकेन ।

लकडाउन खुलेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलोपटक म्याद थपिएको थियो । दोस्रोपटक २०८१ साल असोज २९ गतेभित्र काम सक्ने भनेर म्याद थप भएको थियो । तर, दोस्रोपटक म्याद थप्दा पनि काम हुन सकेन । निर्माण कम्पनीले फेरि ६ महिना थप म्याद मागेको छ । निर्माण कम्पनीले चैतसम्म काम सक्ने भनेपछि मन्त्री केसीले अन्तिमपटक म्याद थप गर्ने÷नगर्ने विषयमा छलफलपछि निर्णय गर्ने बताए ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले घले गाउँ र भुजुङ पुग्ने सडकको काममा ढिलाइ हुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको बताए । त्यसैले सडक निर्माणको काम छिटो सक्न पहल गरिदिन मन्त्री केसीलाई आग्रह गरे ।गाउँपालिकाको केन्द्र जोड्ने सडक बनाउनुपर्ने भएकाले बजेट विनियोजन गरिदिन उनको आग्रह थियो । पुमा भीरको पहिरो नियन्त्रण गर्नका लागि पोखरा फर्केपछि पहल गर्ने मन्त्री केसीले बताए । साथै मन्त्री केसीले करापुटार–डडुवा–साल्मेभञ्ज्याङ–मालिङ सडक (साल्मेभञ्ज्याङदेखि मालिङ खण्ड)को पनि अनुगमन गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x