Skip to content

पोखरेलीलाई शुद्ध पानी

बर्षौ देखिको प्रतीक्षापछि पोखरेलीबासीले शुद्ध पानी पिउने भएका छन् । जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) ले उक्त आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरेसँगै पोखरामा शुद्ध पिउने पानीको व्यवस्था हुनेछ । ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको आयोजनाबाट साढे ३ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । आयोजनाको २०७५ साल जेठ १९ गते तत्कालीन खानेपानी मन्त्री बिना मगरले सुरुवात गरेकी थिइन् । यो आयोजनालाई मेलम्ची पछिको ठूलो आयोजनाको मानिएको छ ।

आयोजनाका लागि २०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबीच अनुदान सम्झौता भएको थियो । त्यसपछि जापानकै हाज्मा एन्ड कर्पोरेसनलाई ठेक्का दिइएको हो । २०८० पुस १५ मा सक्नेगरी २०७६ देखि काम सुरु भए पनि कोरोनालगायत कारणले २ वर्ष पछि धकेलियो । पानी शुद्ध बनाउन मर्दीको मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वटा बालुवा हटाउने ट्यांकी र ४ वटा पानी थिग्र्याउने ट्यांकी निर्माण गरिएको छ ।

अहिले पोखरामा खानेपानी आपूर्तिका लागि मोदी खोला, कालीमुठा, मर्दी खोला तथा पुरानो बालधाराबाट पानी ल्याउने गरिएको छ । बालधारा बाहेक अन्यन्त्रको पानी खुला मुहानबाट ल्याउने गरिएबाट त्यो पानी शुद्धीकरण आवश्यक भएको धेर पहिलै देखि सम्बद्ध पक्षहरुले भन्दै आएका थिए । वर्षायाममा धाराबाट लेदो आउने गर्दछ । कहिलेकाहीँ माछाका भुरासमेत आएको देख्नेहरु छन् । तैपनि पोखरेलीहरुले त्यो पानी प्रयोग गर्दै आएको सर्वविदितै छ । अहिलेको शुद्धीकरण आयोजनाबाट शुद्ध खानेपानी उपलब्ध हुनु पोखरेलीका लागि ठूलो कुरा हो । जाइकाका भनाइ अनुसार पोखरेलीको धारामा सिधै पानी पिउन योग्य हुनेछ ।

आयोजनाले राम्रो काम गर्दागर्दै पनि ३१ मिटर अग्लो ट्याङ्की काटेर १५ मिटरमा झार्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले अडानसँगै विवादमा आएको थियो । अब उक्त ट्यांकी नेपालले बनाउनु पर्ने भएको छ । त्यो कारणले केही वडामा पानीको आपूर्ति असहज हुने बताइएको छ । संस्थानबाट शुद्ध पानी वितरण हुने कुरा आफैमा सुखद हो । तर पोखरामा त्यति पानीले माग धान्दैन । यद्यपी पोखरामा करिब ८ करोड लिटर पानीको माग छ । अरु त्यति नै मात्रामा पानीको माग छ यो सहरमा । संस्थानले मर्दीखोलाबाट ल्याइने पानी शुद्ध पारे पनि अरु स्रोत र बोरिङ लगायतबाट थप आपूर्ति गर्नुपर्ने छ ।

–सम्पादकीय

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x