पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।
काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ रन जोडे । यस्तै, हसन इसाखिलले १२ रन जोडेका हुन् । काठमाडौंका शाहब आलमले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रनको योगदान गरे । शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोड्न सफल भए । चितवनका सोहेल तानबिरले भने ५ विकेट लिन सफल भए । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।