काठमाडौं । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १ सय जना नयाँ सङ्क्रमित भेटिएका थिए । सन् २०२३ सम्म नेपालमा ३० हजार ३ सय व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए ।
यस्तै एचआइभीबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सन् २०२३ मा २३१ जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सय जना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताएका छन् ।
सङ्क्रमितको पहिचान गरेर औषधी पद्धतिलाई राम्रो बनाउँदै उपचारमा रहेका सङ्क्रमितले औषधी खाएपछि अरूलाई सार्दैनन् र सङ्क्रमित कम हुँदै गएको उनको भनाइ छ । औषधी खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उनले बताए । उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधी सेवन गरिरहेका छन् । औषधी सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । एचआइभी सङ्क्रमितमाथि अझै समाजमा लाञ्छना र भेदभाव रहेकाले हटाउन आवश्यक रहेको छ ।
नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारीका लागि बिदेसिने रहेका छन् । आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।