Skip to content

दुई मोटरेबल पुलको शिलान्यास

पोखरा । बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याङ्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका–५ स्थित पवैखोला र विरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुवै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले  शिलान्यास गरेका छन् ।

पुलको शिलान्यासपछि बोल्दै भौतिक मन्त्री केसीले वर्षोंदेखि नबनेको पुल प्रदेश सरकार आएकैले बनेकाले यो खुसीको विषय भएको बताए । धेरैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने गरेको तर जनताले प्रदेश सरकारको महत्व विस्तारै बुझ्न थालेको उनले जिकिर गरे । ‘धेरैले प्रदेश सरकार काम छैन भनेर सामाजिक सञ्जालतिर लेखेको देख्छु । तर, प्रदेश सरकार नभएको भए पुल बन्न कति समय लाग्थ्यो,’ पवैखोलाको पुल शिलान्यास गर्दै मन्त्री केसीले भने, ‘त्यसैले प्रदेश सरकार आवश्यक छ वा छैन भन्ने जनताले बुझ्नुभएको छ ।’

पुल निर्माण समयमै सक्न र गुणस्तरमा कुनै कमजोरी नगर्न मन्त्री केसीले निर्माण व्यवसायीलाई आग्रह गरे । संघमा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार जनताका आधारभूत आवश्यकता, पूर्वाधार निर्माणमा सक्रिय रहेको बताए ।

बाडखोला–पवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्डमा पर्ने पवै खोलामा एक करोड ८६ लाख ९२ हजार रुपैयाँमा मोटरेबल पुल बन्न लागेको हो । बेलधारी–मेथाभुरुङ–सुन्तलाबारी–त्रियासी सडकखण्डको राक्सेघाटमा बन्न लागेको पुलको लागत चार करोड ९२ लाख ७१ हजार रुपैयाँ लागतमा रहेको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए । राक्सेघाट खोला पुलको निर्माण २०८२ साल फागुन १२ गतेसम्म सक्ने सम्झौता निर्माण कम्पनी हिमनिर्माण सेवा काठमाडौंले पूर्वाधार विकास कार्यालय स्याङ्जासँग सम्झौता गरेको छ । त्यस्तै पवैखोलाको पुल २०८२ साल साउन ६ गतेसम्म सक्ने सम्झौता छ । यो पुल निर्माणको ठेक्का राङ्गखोला सिद्धबाबा निर्माण सेवाले पाएको प्रमुख अधिकारीले बताए ।

राक्सेघाट खोला पुलको शिलान्यासपछि बोल्दै प्रदेश सभा सदस्य सीताकुमारी सुन्दासले आफूहरुले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेको बताइन् । ‘म चुनावमा यहाँ गाउँमा आएको थिएँ । त्यतिबेला एकजना बुवाले यो खोलामा पुल कहिले बन्छ भनेर सोध्नुभएको थियो । बनाउने हो भनेकी थिएँ । चुनावमा गरेको प्रतिबद्धता पूरा भएको छ,’ उनले भनिन् ।

प्रदेश सभा सदस्य कल्पना तिवारीले पुल बनेपछि स्थानीयले वर्षोंदेखि खेप्नुपरेको सास्ती हट्ने भन्दै खुसी व्यक्त गरिन् । उनले बेलधारी मेथाभुरुङ सुन्तलाबारी त्रियासी सडकको स्तरोन्नति छिटो गर्न आवश्यक रहेको बताइन् ।
पवैखोला पुलको शिलान्यासपछि बोल्दै सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेलले बाडखोला पवैगौंडे हुँदै कास्की र तनहुँ जान सजिलो हुने भएकाले केही ठाउँमा थप लगानी गर्न आवश्यक रहेको बताए । उनले सडकखण्डको चार किलोमिटर स्तरोन्नति गर्न बजेट विनियोजन गरिदिन आग्रह गरे । नेकपा एमाले र नेपाली कांग्रेस नमिल्दा अस्थिरता, अराजकताको अवस्था पैदा भएको उनले बताए । तर अहिले दुई ठूला दल मिलेकाले विकास निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ थियो ।

राप्रपा प्रदेश सभा संसदीय दलका नेता पञ्चराम गुरुङले पुल एउटा मात्र राजनीतिक दलको पहलमा नभई सबैको पहलमा भएको बताए । बाडखोला–पवैगौंडे सडकमा केही ठाउँमा सडक स्तरोन्नति अति आवश्यक रहेको उनको भनाइ थियो । उनले सडकखण्ड फराकिलो बनाउन बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई आग्रह गरे । राक्सेघाट खोला ३१.२ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको बन्ने छ । पवैखोला पुलको लम्बाइ १५.६ मिटर र चौडाइ ८.४ मिटरको रहने पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x