Skip to content

पर्वतीय संग्रहालयमा २३ गतेबाट महोत्सव

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ ।

महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताए ।

“सङ्ग्रहालय अवलोकन गर्न आउने र आउने योजना बनाउनुभएका महानुभावले पनि यही अवधिमा अवलोकन गर्दा पर्यतीय सभ्यता, कला, संस्कृति, समस्या र समाधानबारे जानकारी पाउने अवसर मिल्छ,” उनले भने । महोत्सव आयोजना गर्न ३२ लाख खर्च हुने जानकारी दिइयो ।

पर्वतारोहण संघका सल्लाहकार डा गणेश गुरुङले महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक आफैं र केही संस्थासँग सहकार्यबाट हुने बताए । “पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ । पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं,” उनले भने ।

यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजककोे अपेक्षा छ । महोत्सवको पहिलो दिन डिसेम्बर ८ मा पर्वतीय जीवन, अनुकूलन र भविष्यबार अन्तरक्रिया हुनेछ । दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरुले आफ्नो अभिमत राख्ने र तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तक्रिया हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ भने अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे बिमर्श गरिनेछ ।

महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेले बताइन् । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x