म्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरूको रोजाइमा परेको छ ।
एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरू बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रूपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए । “दुई– तीन वर्ष अघिसम्म छिटपुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उनले भने, “बेनी, जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।”
चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरू झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् ।
चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिनुभएको हो । “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसादले भने, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन् । अहिले खुसी लागेको छ ।”
पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्बिर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय व्यापारीहरूले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको रु दुई सयदेखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्बिर खिचाएको एक सय ५० रुपैयाँ र सँगै तस्बिर खिचाउँदा ५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।