पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको ‘माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड’ बाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी संघ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ ।
उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ । सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा संकलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ ।
‘सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ’ उनले भने, ‘व्यावसायिक गाईभैँसी पाल्ने किसान पनि थपिँदै जानुभएको छ, सरकारले तोकेको मूल्य नियमित रूपमा पाएपछि किसानहरू सन्तुष्ट हुनुहुन्छ ।’
दूधमा हुने ‘ल्याक्टो’ र ‘फ्याट’ जाँचको आधारमा प्रतिलिटर ६८ देखि ७३ रुपैयाँसम्म किसानले पाउने गरेको सचिव नेपालीले जानकारी दिए । डेरी उद्योगले प्रतिलिटर ७४÷७५ सम्ममा सहकारीबाट दूध खरिद गर्ने गरेको उनको भनाइ छ ।
पोखराको सहकारी डेरी उद्योगलाई मासिक सात सय लिटर दूध उपलब्ध गराउने सम्झौता अनुसार कारोबार भइरहेको सचिव नेपालीले बताए । उक्त उद्योगमा आठ वटा दूग्ध उत्पादक सहकारीले दैनिक रूपमा दूध उपलब्ध गराउँदै आएका छन् ।
उद्योगका सुपरभाइजर कृष्ण अधिकारीले ती सहकारी संस्थाबाट दिनमा ३५ सयदेखि चार हजार लिटरसम्म दूध आउने गरेको जानकारी दिए । डेरी उद्योगले दिनमा झण्डै तीन लाख बराबरको दूध गाउँका किसानबाट ल्याउने गरेको छ । सरकारले तोकेको दरमा दूधको भुक्तानी हरेक १५÷१५ दिनमा किसानलाई उपलब्ध गराउने गरिएको उद्योगका सुपरभाइजर अधिकारीले बताए । माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाभित्र पर्ने हेम्जा, सुइखेत, पुम्दीभुम्दी र कास्कीकोटबाट दूध उद्योगमा भित्रने गरेको छ । सहकारीले किसानबाट संकलन गरेर ल्याएको दूधलाई प्रशोधन र गुणस्तर सुनिश्चित गरेर मात्र बजारमा बिक्री गर्ने गरेको उद्योगका सुपरभाइजर अधिकारीले बताए ।
दूधबाहेक पनिर, दही, नौनीलगायत वस्तु डेरीले उत्पादन गर्दै आएको छ । दुई करोड बराबरको अत्याधुनिक उपकरणजडित उद्योगबाट छिट्टै खुवा र आइसक्रिम पनि उत्पादनको लक्ष्य लिइएको छ । विसं २०५७ मा स्थापित उक्त डेरी उद्योगले दूग्धजन्य वस्तु बेचेर मासिक आठ देखि दशलाखसम्म मुनाफा आर्जन गर्ने गरेको छ । उद्योगमा दस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।