पोखरा । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ । सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ । हिजो सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो ।
सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो । चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारमा झरेको थियो । आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन् ।