काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै ९ वटा युट्युब च्यानललाई मंगलबार कारवाही गरेको छ । त्यसमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ ।
सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।काउन्सिलले पछिल्लो समयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।
केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो ।
काउन्सिलले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेको अराजकता रोक्न विशेष सक्रियता देखाइरहेको छ । यसअघि विभिन्न युट्युव च्यानल, फेसबुक पेजलाई तथ्यपूर्ण र सन्तलित सामाग्री दिन विशेष अपिल जारी गरेको थियो भने अटेर गर्नेमाथि कारवाही समेत गरेको छ ।