पोखरा ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा केन्द्रीय सरकारको हस्तक्षेप रहेको बताएका छन् । बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन् ।
‘काठमाडौंको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो,’ उनले लेखेका छन् ।
महानगरले फोहर व्यवस्थापन र ढुवानीमा गराउन खोजेका प्रतिस्पर्धामा अवरोध पुग्ने गरी नेपवेष्टले हालेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश नदिएको उल्लेख गर्दै मेयर शाहले फोहर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको बताएका हुन् ।
उनले उल्लेख गरेका छन्, ‘हामीले सही र दिगो समाधान गर्न वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौं, त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो । तर अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ ।’ महानगरले असोज २४ गते फोहोर वर्गीकरणका लागि आह्वान गरेको टेन्डर सूचनाविरूद्ध नेपवेष्ट प्राइभेट लिमिटेडले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
उच्च अदालतका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यले बिहीबारको सुनुवाइमा अन्तरिम आदेश जारी नगरेपछि टेन्डर प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । उनले काठमाडौं फोहोर व्यवस्थापनको दिगो समाधान सम्भव समेत रहेको उल्लेख गरेका छन् ।