म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत माथिल्लो मुस्ताङको चराङ खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माणपछि माथिल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटक र स्थानीयवासीलाई सहज भएको छ ।
कालीगण्डकी कोरिडोर सडक आयोजना मुस्ताङले ठेक्कामार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङखोलामा पक्की पुल निर्माण गरेको हो । पुल निर्माणका लागि आयोजनाले २०७५ साल असार २९ गते काष्ठमण्डप कन्स्ट्रक्सनसँग १० करोड १८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । पुलको सोमबार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु) ले उद्घाटन गरेका छन् ।
पुल निर्माणपछि माथिल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिका जोड्ने हुँदा पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको उनले बताए । ठेकेदारको ढिलासुस्तीका कारण समयमै पुल निर्माण हुन नसकेपछि आयोजनाले दुई वर्षअघि ठेक्का तोडेर कालो सूचीमा राख्ने चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्केर पुल निर्माणमा जुटेको थियो ।
दुई स्पानको ८० मिटर लामो चराङखोला पुलको सुरुवाती ठेक्का सम्झौता अनुसार २०७७ साल पुस ९ गते सकिनुपर्ने थियो । साढे दुई वर्षको सम्झौता अवधि तोकिएको उक्त पुल निर्माणमा ढिलासुस्ती र बेवास्ताका कारण लामो समयसम्म अलपत्र परेको थियो ।
पाचौँ पटक थपिएको म्यादपछि पुल निर्माण सम्पन्न भएको कालीगण्डकी कोरिडोर सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए । उनका अनुसार पुल निर्माण भई सवारीसाधन आवतजावतका लागि खुला गरिएको छ ।
आयोजनाका अनुसार कालीगण्डकी कोरिडोरको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मका विभिन्न स्थानमा गरी १९ वटा मोटरेबल पुलको ठेक्का लागेको, १० वटा निर्माण सम्पन्न भएको, पाँच वटा निर्माणाधीन, पाँच वटाको ठेक्का तोडिएको र पाँच वटा पुलको ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी छ ।