पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गरेका छन्
सन्देशमा उल्लेख छ, ‘पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।’
शुभकामना सन्देशमा यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुने विश्वास लिँदै सभ्य ढंगले देउसी – भैलो खेल्नुका साथै जुवातास जस्ता नकारात्मक पक्षलाई हटाउनुपर्नेमा उनले जोड दिएका छन् ।
तिहार पर्वले सबै नेपालीमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका उनको छ ।