पोखरा ।
सन् १९९५ जनवरी १३ मा पहिलोपटक रिलिज भएको भारतीय फिल्म ‘करण अर्जुन’ पुन प्रदर्शन हुने भएको छ । शाहरुख खान र सलमान खानको मुख्य भूमिमा रहेको उक्त फिल्मलाई ३० वर्षपछि फेरी दर्शकले हलमा गएर हेर्न पाउने भएका छन् । यो फिल्मले बलिउड सुपरस्टार सलमान र शाहरुख खानलाई पर्दामा पहिलोपटक सँगै ल्याएको थियो ।
झन्डै ३० वर्ष पहिला रिलिज भएको फिल्म नहेरेका दर्शकले आगामी नोभेम्बर २२ मा हेर्न पाउने भएका हुन् । यो फिल्म भारत लगायत देशभरका हलमा प्रदर्शन गरिने जनाइएको छ । पछिल्लो समय नेपालमा समेत बलिउडका पुराना फिल्मको पुनः प्रदर्शन भइरहेको बेला ‘करण अर्जुन’ समेत नेपालमा पनि आउने अनुमान गरिएको छ । अभिनेता सलमान खानले सन् १९९५ को यो कल्ट–क्लासिक फिल्मको पुनः प्रदर्शन हुने जानकारी दिंदै नयाँ टिजर सार्वजनिक गरेका छन् ।
रोशन निर्देशित यो फिल्म बक्सअफिसमा हिट भएको थियो । ब्लकबस्टर यो फिल्म उक्त वर्ष रिलिजको समयमा धेरै कमाइ गर्ने फिल्ममध्ये एक थियो । यस फिल्मले ४३ करोड भारतीय रुपैयाँ कमाएको थियो । यो फिल्म ७६ हलमा ५० साता चलेको थियो । त्यसताका फिल्म फेयर अवार्डमा १० विधामा छनोट भएको यस फिल्मले उत्कृष्ट एक्सन र सम्पादनको अवार्ड जितेको थियो ।