पोखरा ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । आजै सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो ।
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट गत शुक्रबार पक्राउ परेर पोखरा ल्याएको थियो । रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।