पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै रवि लामिछानेले सरकारप्रति आक्रोश व्यक्त गर्दै लामो स्टाटस लेखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ..
सरकार मर्याे,हामीलाई जुठो पर्याे ।
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईहरुका दलका नेता र कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् । तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।
अहिलेलाई,सरकार मर्याे हामीलाई जुठो पर्याे । तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।