पोखरा ।
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आज सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।