Skip to content

गण्डकी प्रदेश : संयुक्त सरकारको साझा कार्यक्रम सार्वजनिक

पोखरा ।

गण्डकी प्रदेशमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) वीच मिति २०८१ भदौ १७ गते संयुक्त सरकार गठन भएको सन्दर्भमा सरकारलाई जनभावना अनुरुप प्रभावकारी रुपमा सञ्चालन गरी “आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी” को सोचलाई मूर्त रुप दिने संकल्प सहित साझा कार्यक्रम बनाइएको छ ।

समुन्नत प्रदेशका लागि प्रभावकारी सार्वजनिक सेवा को मूल मर्मलाई आत्मसाथ गर्दै नीतिगत एवम् संरचनात्मक सुधारगरी सेवा प्रवाहलाई चुस्त, गुणस्तरीय र नतिजामुखी बनाइने उल्लेख गरिएको छ । कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाइनेछ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सिमा नाका सुचारु गर्न विशेष पहल गरिने समावेश गरिएको छ ।

‘‘स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वाथ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउदै स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्तिको क्षमता विकासलाई जोड दिइनेछ । स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गरी निरोगी प्रदेशको अवधारणालाई सार्थक तुल्याउन विशेष योगदान पुर्याइनेछ । डायलासिस सेवाका लागि प्रतिक्षारत बिरामीलाई सुन्यमा राखिनेछ । प्रदेशका ११ वटै जिल्ला अस्पतालको क्रमशः क्षमता बिस्तार गर्दै लगिनेछ । सवै स्थानिय तहमा आधारभूत स्वास्थ्य सुविधा पुर्याइनेछ । सरकारद्वारा निशुल्क उपलब्ध हुने औषधीको कमी हुन नदिई बितरणलाई प्रभावकारी बनाईनेछ,’’ कार्यक्रममा भनिएको छ ।

सदाचार युक्त गण्डकी प्रदेश अभियानलाई सार्थक बनाउन भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागु गरिनेछ । कानुनको नजरमा सवै समान हुने सिद्धान्त र जुनसुकै ओहोदाको भएपनि गलत कर्म गर्ने अवश्य दण्डित हुनेछन् भन्ने मान्यता स्थापित गरिनेछ । सवारी दुर्घटना न्यूनिकरणको लागि पुराना सवारी साधानको समुचित व्यवस्थापन, पूर्वाधारमा सुधार र यातायात क्षेत्रका जनशक्तिको व्यवाहार जन्य शिल्प एवम् क्षमता विकास गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । सुरक्षित यातायात सेवाको लागि आधुनिक ट्राफिक प्रणालिको विस्तार र वैकल्पिक मार्गको स्तरोन्नति गरिनेछ । यातायात सेवालाई थप सहज र सर्वसुलभ बनाउन राईड सेयरिङ जस्ता सेवालाई कानुनद्वारा व्यवस्थित गरी सञ्चालन गरिनेछ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गरिनेछ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटककको सेवा तथा तथा सुविधा विकास र विस्तार गरिनेछ । सार्वजनिक नीजि साझेदारी मार्फत पर्यटकीय पूर्वाधार निर्माण, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्राण्डिङ र प्रचार प्रसारमा जोड दिइनेछ । पर्यटनको समग्र विकासमार्फत आर्थिक विकास र रोजगारी वृद्धिमा टेवा पुर्याइने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण र नयाँ पर्यटकीय गन्तव्यको खोजी, व्यवस्थापन एवम् प्रचार प्रसार गरिनेछ । साथै प्रादेशिक पर्यटन गुरुयोजना तयार गरी क्रमशः कार्यन्वयनमा लगिनेछ ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको सन्दर्भमा पोखरा जाऔ प्रकृति र संस्कृतिसँग रमाऔ भन्ने मुल मर्मका साथ पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई सुचारु गर्नुका साथै आन्तरिक उडानका सेवालाई सबै प्रदेशमा विस्तार गर्न आवश्यक पहल र समन्वय गरिनेछ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x