पोखरा ।
१०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट पक्राउ गरेको हो । असोज १ गते दिउँसो ४ बजेतिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गर्ने भनि पोखरा ल्याएर चोरी गरेको आरोप छ ।
फकिर सहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्लालाई समेत पोखरा ल्याइएको थियो । पोखराको ड्यामसाइड स्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रा सहितको गाडी लिएर फकिर फरार भएका थिए ।
फकिरले च्याङ्ग्राहरु असोज २ गते पोखराको घट्टेखोलामा लगेर बिक्रि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका फकिरविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनका म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ ।