Skip to content

संघर्ष र बलिदानको सम्झना र सम्मान ः प्रदेश प्रमुख भट्ट

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

दिवसको शुभकामना सन्देश जारी गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान प्रकट गरेका छन् ।

नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान पनि भट्टले गरे ।

‘‘‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको छ,’’ भट्टले भने, ‘‘हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक श्रोत तथा उर्जाशील युवाशक्ति सहित मानवीय संशाधनको दीगो सदुपयोग गर्दै कृषि, वन, जलश्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकास मार्फत् स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरुको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरुमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्दछ ।’’

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिँदै उनले थपे , ‘‘देशको हित र जनताको उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु।’’

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x